वरिष्ठ लोकदोहोरी गायक एवं पत्रकार रामप्रसाद खनालले अमेरिकी राष्ट्रपतिद्वारा प्रदान गरिने अमेरिकाको प्रतिष्ठित पुरस्कार ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ २०२३ प्राप्त गरेका छन् । अमेरिकाका राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेको विशेष प्रमाणपत्र सहितको पुरस्कार र ह्वाइट हाउसका तर्फबाट राष्ट्रपतिले लेखेको सम्मान पत्र प्राप्त गरेका खनाल अमेरिकामा पनि गीत संगीत, साहित्य, कलाकारिता, पत्रकारिता, विभिन्न व्यवसायहरूसँगै समाजसेवामा निरन्तर योगदान गरिरहेका छन् ।
खनाल विगत चार दशक देखी गीत संगीत, साहित्य, कलाकारितामा संलग्न रहँदै आएका छन् भने साढे तीन दशक यता पत्रकारिता र विभिन्न व्यापार, व्यवसायमा पनि संलग्न छन् । नेपालमा नेपाल सरकारको तर्फबाट रेडियो नेपालद्वारा विशिष्ट लोकदोहोरी गायकका रूपमा प्रमाणित र सम्मानित उनी विगत सत्र वर्ष देखी अमेरिकामा बसोबास गर्दै आएका छन् । खनाल नेपालमा पनि राष्ट्रिय पुरस्कार प्रख्यात त्रिशक्ति पट्ट, गोरखा दक्षिण बाहु लगायतका कैयौँ राष्ट्रिय पुरस्कार, सम्मान, अभिनन्दन प्राप्त गर्ने व्यक्तित्व हुन् ।
अमेरिकामा अतिरिक्त क्षमतावान व्यक्तिहरूलाई अमेरिकाले प्रदान गर्ने एक्स्ट्रा अर्डिनरी एबिलिटी इवी वान अन्तर्गतको विशेष ग्रीनकार्ड प्राप्त गरी यहाँ बस्दै आएका खनाल नेपाली अमेरिकन समुदाय, एसियन अमेरिकन समुदाय र समग्रमा अमेरिकी समुदायमा पनि उत्तिकै क्रियाशील छन् ।
हाल सम्म उनका 1200 भन्दा बढी गीत संगीत, 2000 भन्दा बढी कविता गजल मुक्तक, 57 वटा गीति एल्बम, १८ वटा विभिन्न विषयका पुस्तकहरू प्रकाशित छन् भने उनका गीत संगीत अन्तर्राष्ट्रिय प्लेटफर्महरू एमाजोन, सिडी बेबी, एपल म्युजिक लगायतमा पनि उपलब्ध छन् ।



